Wednesday, September 24, 2008

सम्झौता


कहिले चट्टानमा ठोक्किंदै
अनि भेलहरुमा लछारिंदै
अविरल बगिरहेको
म एउटा नदी
कहिले झरना बनी
तल-तल झरिरहन्छु
कहिले छाल बनी
माथी-माथी उडिरहन्छु
अर्थहीन मेरा यी यात्राहरुमा
निरीह भई कैयौं पटक
धर्तिको साथ खोज्छु
तर ऊ कहिले पहाड बनी
मेरो बाटो छेकिदिन्छ
कहिले पत्थर बनी
मेरा चोटहरुमा पीडा थपिदिन्छ
तैपनि म चुपचाप सहीदिन्छु
बस् चुपचाप
मलाई धर्तिसँग
कुनै गुनासो गर्नु छैन
ऊ मलाई गाली गरोस्
या माया गरोस्
तिरस्कार गरोस्
या सहारा देओस्
बरु कुनै बेला धर्तिले
मेरो बाटो छेक्यो भने
बिना कुनै आक्रोश
म आकाशतर्फ चियाउँछु
कारण आकाशले मलाई
कहिल्यै पराई सम्झेन
मेरा बाटोहरुमा
कहिल्यै तगारो बनेन
ऊ त अँगालो खोलेर
हरपल मेरो स्वागत गर्दछ
त्यसैले उसलाई चुम्ने
मेरा अधुरा तृष्णाहरु
कहिले बाफ बनी पुरा गर्छु
कहिले छाल बनी नजिकिन्छु
तर ती असफल प्रयासमा
मेरा अपुरा सपनाहरु
अपुरै रहन्छन्
पारी क्षितिजसम्म पुग्नुपर्ने
मेरा उद्देश्यविहीन दौडहरुमा
मेरो साथ रहन्छ
आखिर उही धर्ति
अनी धर्तिको साथ म,
थाहा छैन हाम्रो निकटता
केवल सम्झौताको सहारामा
रहरहरु थाँती राख्दै
कहाँसम्म थामिईरहन्छ
कता-कता तन्किईरहन्छ ।

3 comments:

Anonymous said...

मैले पहिलोपटक तपाईँको ब्लग हेरेको, मलाई तपाईँका कविता असाध्यै मनपर्यो । अबदेखि सधैँहेर्नलाई तपाईँलाई मैले मेरो ब्लगरोलमा पनि राखिसकेँ ।
www.guffgaaf.blogspot.com

Anonymous said...

शीर्षक दाइ, साँच्चै भन्नु पर्दा, भूपि शेरचनका बाहेक अरु गद्द कविता मलाई त्यति मन पर्दैनन् । तर यो कविता निकै राम्रो छ ! लेख्दै जानुहोला । पढ्ने मान्छे थपिंदै छन् ! :-)

Anonymous said...

मैले पनि तपाईंहरु दुबैलाइ blog list मा राखेको छु । धन्यवाद कविता मन पराईदिनु भएकोमा ।