Wednesday, December 31, 2008

Happy New Year 2009


" विहानीको झुल्के घाम झैं
नुतन उमंग छरीरहनु तिमी
सिंढी अझै चढ्नु छ धेरै
हरपल सफलता पाईरहनु तिमी"

सबैलाई नव वर्ष २००९ को यही शुभकामना .

Tuesday, December 30, 2008

तिमीलाई नै सम्झन्छु




म अनायसै रोकिन्छु,
जब केही लेख्न खोज्छु
मेरो धड्कनमा तिमी धड्किदिन्छौ
मेरो नशा-नशा मा तिमी छाइदिन्छौ
अनि म कसरी लेख्न सक्छु,
तिमीलाई नै सम्झन्छु

कल्पनामा डुब्न खोजुँ,
भावनामा हराउँ म
चाहे अरु केही नै गरुँ
एक्लोपनले सताईरहन्छ
अनि म के नै भन्न सक्छु,
तिमीलाई नै सम्झन्छु

सपनीमा तिमीलाइ नै भेट्छु
पढ्न खोज्दा तिम्रै मुहार देख्छु
हरेक श्वासमा तिमीलाइ पाउँछु
तिम्रो यादमा एक्लै मुस्कुराउँछु
अनि म कसरी भुल्न सक्छु,
तिमीलाइ नै सम्झन्छु

म तिमीलाई भेटिरहन्छु
तिम्रो महशुस गरिरहन्छु
तिमीलाइ स्पर्श गरिरहन्छु
तिमीसँग नै बोलिरहन्छु
तर यथार्थमा के नै गर्न सक्छु,
फगत तिमीलाइ सम्झन्छु ।

Tuesday, December 23, 2008

के यही हो माया?


एकै दिनको बिछोड पनि यती साह्रो हुँदो रैछ
उसकै यादले घरि घरि यो छातीमा छुँदो रैछ

बुझ्न मैले सकिन यो माया भन्ने चिजै कस्तो
चिनाजानको दुई दिनमा नै हरपल सँगै रहुँ जस्तो
उसलाई पनि यस्तै हो कि मलाई मात्र हुँदो रैछ
उसकै यादले घरि घरि यो छातीमा छुँदो रैछ

न भेटेको छु उसलाई, न त मैले देखेको छु
तैपनी आँखाभरी उसकै तस्वीर राखेको छु
निदरीमा सपनी नि उसको मात्र हुँदो रैछ
उसकै यादले घरि घरि यो छातीमा छुँदो रैछ ।

Monday, December 22, 2008

तिम्रो आगमन




मन्द मन्द मुस्कानका साथ
निश्चल एउटा मुहार
मेरो कोठाको मधुर रोशनीमा
अनायसै छाइदिन्छ
परिचित चेहरा थियो त्यो
तर आश्चर्यपूर्ण थियो
उनको त्यो अप्रत्याशित आगमन,
उनी जो मेरो नजरबाट
लुकी-लुकी भाग्ने गर्थिन
जो आफ्नो मुस्कानलाइ
मेरो सामु लुकाउँथिईन्
आज मेरो समीपमा
मेरो साथ खोज्दै थिईन्
म किंकर्तव्यविमुढ हुन्छु
आफ्नै अधरमा भावहरु खोज्छु
आत्मियता पोख्ने शब्दहरु सँगाल्छु
अनि उन्मादको पराकाष्ठामा
हठात प्रकट गर्न पुग्छु म
आखिर मेरो मनोभाव बुझीछौ
मेरो नयनका भाषा पढीछौ
तर फेरी सुटुक्क
तिमी कतै नभाग्नु है
मलाई एक्लै तड्पाएर
ऋतु जस्तै नबदलिदिनु है,
अनौठो त्यो संगममा
कता-कता रुमल्लिंदै म
वर्षौंदेखी गुम्सिएका भावना
नयनबाट अविरल बगाइदिन्छु
यस्तो लाग्थ्यो
अब ती आँसु साँच्नुको
कुनै अर्थ रहने छैन
मेरा यी नयनहरुमा पुन:
आँसुको भेल बग्ने छैन ,
कोमल हातहरुले उनी
पोखिएका वेदना पुछिदिन्छिन
नीरस मेरो जिन्दगीमा
नूतन उमंग भरिदिन्छिन
म टोलाईरहन्छु
उनकै मुहारविन्दुमा
म हराईरहन्छु
उनकै मायालु स्पर्शमा
आखिर,
उनी मेरो निम्ती नै आएकी रहिछिन्
मीठो आश्चर्य बनेर आएकी रहिछिन्
मेरो जीवनको क्यानभास सजाउने
रंग र कुची बोकेर आएकी रहिछिन् ।

Wednesday, November 5, 2008

तिम्रै निम्ती


हर्ष र उल्लासमा हराउन सक्थें होला
तर चोट र व्यथामा नै रुमल्लिन पुगें
वसन्तको वहारमा रमाउन सक्थें होला
तर उजाड पतझडमा नै तड्पिन पुगें
प्राप्तिका हाँसोहरुमा खुल्न सक्थें होला
तर गुमाईका आँसुहरुमा नै मौन रहें
स्वतन्त्रताको आकाशमा उड्न सक्थें होला
तर विवशताको जञ्जालमा फँस्न पुगें
पुर्णिमाको रश्मीमा गाउन सक्थें होला
तर औंसिको रातमा अर्तनाद पोख्न पुगें
हुन सक्छ यो तिम्रै खोजिको प्राप्ति हो
मेरो निम्ती समर्पित कोशेलीहरु हो
हो, मेरो सपना जस्तै निष्प्राण बन्न सक्थें
तर तिम्रै प्रतिक्षामा ज्युँदो लाश भई बाँचिरहें ।

Friday, October 24, 2008

झुठो साथ


चौतारीमा गाँसेको त्यो माया प्रीति छुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो

दुई मुटु एक झैँ थियो किन आज फुट्न लाग्यो
मेरो खुशी म बाट नै कसले आज लुट्न लाग्यो
साथ दिने हातले नै मलाई आज कुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो

ओभाना दुई नयनमा आज आँसु जुट्न लाग्यो
वियोगको जलनले नै मुटु मेरो भुट्न लाग्यो
वेवारीशे यो पागललाई नियतिले चुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो ।


Wednesday, October 22, 2008

सागर हुँ म

तिमी सोच्थ्यौ होला, यो सागर पवित्र छ, कञ्चन छ-------------- तर एउटा सागर जसलाइ आफ्नै किनाराको पत्तो छैन, आफ्नै सीमाको अन्दाज छैन-------- उ आफ्नो निश्चलतामा कसरि निश्चिन्त रहन सक्ला र ? उसले कसलाइ मात्र बिन्ती गर्न सक्छ र, मलाइ नधमिल्याउ किनकि म कसैको निम्ति निर्मल रहिरहनु छ भनेर । उसलाइ नै थाहा छैन कती नदीहरु आफुमा समाहित हुन आउने गर्दछन्, केहि उसलाइ निश्चल बनाउन त केहि अरु दुषित बनाउनको निम्ती । सहारा खोज्ने सबैलाइ साथ दिन्छ तर कसैको नियत पहिले नै बुझ्न सक्दैन सागर । सागर त अनन्तसम्म फैलिएको छ---- पर क्षितीजलाइ समेत चुम्ने गरी, गगनलाइ अँगाल्ने गरी । उ क्षितीजको आँखामा अटेकै छ, गगनको मुटुमा लुकेकै छ अनि लमतन्न धर्तीको काखमा सुतेको छ । कोही भन्दैन सागरले मेरो मन दुखाएको छ, तर किन-किन किनारामा उभिएको इर्ष्यालु दुनियाँ भनीरहेछ----- सागर तिमी स्वार्थी छौ, घमण्डी छौ अनि तिमीले हामीलाइ गहिरो चोट दिएका छौ । दुनियाँले त सागरको किनारामा उभिएर केवल उसको सतहको मुल्यांकन गर्यो----- हो त्यहि सतह जसलाइ तीनै दुनियाँले आफु सफा बन्ने होडमा दुषित बनाएका थिए । अफशोस उनिहरुले सागरभित्र नियाल्ने कोशिश गर्न कहिल्यै आवश्यक ठानेनन्------- गहिराइमा पुग्दा सागर पनि निश्चल छ कि भनेर ।

थाहा छैन किन दुनियाँ एक्लो सागरको चोटमाथि चोट थप्नुलाइ मात्र आफ्नो विजय ठान्दछ, अनुपम गौरव मान्दछ । हो, सागर अटल छ तर मृत अवश्य होइन --------- सागर मौन छ तर शब्दविहीन छैन, भावविहीन छैन । एउटा अनौठो गुञ्जायस निरीह मनभित्रै साँचिराखेको छ, जसलाइ यो दुनियाँमा पोख्नुको कुनै अर्थ देख्दैन सागर । त्यसैले आज सागरलाइ खाँचो छ त एउटा स्वच्छ हृदयको, निष्कपट नजरको अनि एउटा निस्वार्थ मनको जसले उसलाइ त्यसरि नै बुझ्न सकोस् जस्तो उ वास्तवमा छ ।

हुन त सागरलाई आफ्नो अन्तर-पवित्रता कसै सामु सावित गर्नु छैन, निस्वार्थपनको ढोंग देखाउनु उसको रहर होइन, तैपनि दुनियाँले उसको गहिराइमा डुब्दै वास्तविकतालाइ बुझिदिउन् अनि इर्ष्यालु दुनियाँका नजरमा आत्मियताका भावहरु छाउन्---------- यसले नै सागरलाइ आत्मसन्तुष्टि दिनेछ अनि हिजो जस्तै आज पनि जीवन्त भै खुलेर हाँस्नेछ यो सागर ।

Tuesday, October 21, 2008

तिम्रा यादहरु

गोधुलीमा चियाउँछु
सधैं सधैं तिम्रो बाटो
भक्कानिन्छ मुटु मेरो
बल्झिदिन्छ फेरी खाटो

कति मीठा थिए वाचा
सँगै बाँच्ने मर्ने हामी
आज कसलाई अंगाल्दैछौ
प्रिया तिमी मेरो साटो

सम्हालुँ खै कसरी म
विरही यो जिन्दगीलाई
आफ्नै मात्र दु:ख देख्छु
यता उता बाटो घाटो

खुशी सबै गुमाएछु
आफ्नो ठान्दा तिमीलाई
कसो गरी बिताउँ अब
जिन्दगीको नीरस पाटो ।

Monday, October 20, 2008

अन्तिम-पत्र

स्मृति,
आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ, अतितको मीठो सम्झनाले मुटु बिथोलिन्छ अनि मनको अन्तरंगमा पीडाका लप्काहरु दन्किदिन्छन्। तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा झरिदिने दुई थोपा आँसु छैन, हर्षमा मुस्कुराइदिने एक निस्वार्थ मुस्कान छैन, त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकीनसकी थामिरहनुलाई आफ्नो पुरुषार्थ ठानिरहेछु आज म ।

म त चुँडिएको चंगा जस्तै विना उद्देश्य कहिले बादलपारि लरबरिंदै त कहिले यो मरुस्थलमा पछारिंदै उडिरहेको थिएँ । शायद मेरो दुर्भाग्य नै होला, अनन्तमा वर्षा र आँधिको प्रहारसँगै म च्यातिएछु, निष्ठुरी चट्याङ् पनि मेरो जीवनको पाखामा नै परिदिएछ । विक्षिप्त मेरो जीवन आखिर अँध्यारो गल्लिमा रुमल्लिरहेको बस्तीभित्रको वेवारिशे आकृति बन्न पुगेछ, जो असह्य पीडाले निष्प्राण खोक्रो रुपमा परिणत भैसकेको थियो । अनायसै छेवैबाट आएको कसैको हाँसोको अट्टहास अनि आँखा नै तिर्मिर्‍याउने प्रकाशले ममा कता-कता चल्बलाहट ल्याउन थालेछ । बर्षौंदेखि थाकेका शीथिल हातहरुले निष्तेज बन्द आँखा उघार्दै हेरें, कालरात्रिको सन्नाटालाइ बिदा दिंदै अनि उषाका रक्तिम किरणहरुलाइ आफ्नो पछ्यौरी बनाउँदै झुल्किएको मनोहर प्रभातसँगै तिमी त आफन्त बन्ने रहर बोकेर मेरो छेवैमा आईसकेकी रहिछौ, मेरो जीवनको खाली क्यानभासमा आत्मियताका रंगहरु भर्दै केही रंगीन बनाउने धुनमा लागिसकेकी रहिछौ । म त्यो पल अझै पनि सम्झिरहन्छु, जब तिमी गोधुली साँझमा क्षितीज चियाउँदै अनि कल्पनाको सागरमा डुबुल्की मारेर विश्वासका खम्बाहरु उभ्याउने गर्थ्यौ, मलाई जीवनको कठिन यात्रा पार गर्न सिकाउँथ्यौ । हो स्मृति, तिम्रा ती सहानुभुति अनि प्रेरणाको साथले नै मेरो जिन्दगीमा एउटा अनुपम वहार आएको थियो जसले मृतप्राय: मेरो जिजीविषालाइ पुन: जगाउन थालेको थियो । तिमी भन्ने गर्थ्यौ, झरनाहरुमा थोपा-थोपा मिले झैं दुई आत्माका भावनाहरु मिलाउँदै हामी पनि मनभरीका वेग र आवेगमा, संगमका लहरहरुमा मिल्न सक्छौं । आखिर तिम्रै चाहना अनुरुप विश्वासको प्यालामा जिन्दगीको मदिरा थप्दै, हृदयको क्षितिजमा श्रद्धाका रंगहरु भर्दै हामीले यात्रा शुरु गर्यौं अनि मनको मिलनको आशामा तिमी र म अघि बढ्दै गयौं, खुल्ला आकाशका दुई पंक्षीहरु जस्तै । जुन र तारा मिले झैं, हिमाल मुस्कुराए झैं कता-कता प्रकृति नै हर्षित भए झैं आभास हुन्थ्यो त्यस बखत मलाइ । तिमी कति महान थियौ, कति उदार थियौ जो आफ्ना सारा रहरहरुलाइ थाँती राखेर संसारभरका खुशीहरु केवल मेरै निम्ती सँगाल्दै सप्तरंगी ईन्द्रेणीका रेखाहरुले क्षितिजलाइ सजाए झैं मेरो खण्डहर जीवनलाइ सजाउन चाहन्थ्यौ ।

समयको जवानीसँगै हाम्रो यात्राको दौरानमा तिमी अलि अगाडि पुगिछौ, म तिमी भन्दा अलि पछाडि छाडिएछु । यो अगाडि पछाडि पाइलाको फरकमा हामी फेरी पनि एक्ला-एक्लै भएछौं अनि वेग्ला-वेग्लै, नितान्त वेग्ला-वेग्लै । म जति तिम्रो नजिक पुग्न खोज्थें, सामीप्यताको बन्धन तोड्दै तिमी झन टाढा पुगिसकेकी हुन्थ्यौ मेरो निम्ती फगत मृगतृष्णा बनेर । मैले ठम्याउनै सकिन खै कहाँबाट असमानताको पर्खाल खडा भइदिएछ ,विश्वासघातको आँधी चलिदिएछ अनि मलाई एउटा अपुरो अधुरो यात्रामा छाडेर तिमी ऋतुसरी बदलिईदिईछौ । यो पनि म कसरी सोच्न सक्थें र कि त्यती छिट्टै आस्थाका पर्खालहरु लरबराउनेछन्, भावनाका पखेंटाहरु भाँचिनेछन् अनि अटुट लाग्ने तिम्रा वाचाहरु खोक्रो र फोस्रो भई शुन्यतामा बिलाउनेछन्, केवल सम्झनाले भिजाएका परेलीहरु अनि चोटहरुले सजिएको मेरो मुटु प्रेमोपहार स्वरुप मलाई नै सुम्पिएर । आज तिमी खुशी छौ कि छैनौ, म यसै कसरी भन्न सक्छु र? तर म त नदीका दुई किनार झैं टाढिएको हाम्रो स्वप्निल संसारभित्र आफ्नो अतित चियाउँदै प्रत्येक दिन प्रतिक्षा अनि प्रत्येक रात सम्झना को भेलमा अविरल बगिरहेको छु । जीवनको फूलबारी सजाउने उमंगमा वसन्तको वहार खोज्न निस्केको म आज अञ्जुलीभरी काँडाका उपहार र नयनभरी हिउँदको झरी लिई फर्किरहेछु अनि भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु । मेरो अन्तरहृदयको रंगमञ्च जो हिजो सम्म केवल प्राप्तिको अट्टहासमा गुञ्जायमान हुने गर्दथ्यो, आज प्रतिशोध र क्रन्दनको भुमरीमा रुमल्लिरहेको छ । यस्तो लाग्थ्यो संसार एउटा सुन्दर बगैंचा हो जसका सारा फूलहरु पनि मेरो जीवनमा वहार ल्याउनको निम्ती आतुर छन् तर मलाई के थाहा सुन्दर ती फूलहरु एकाएक ओईलाई झरिदिनेछन् मेरो जीवनलाई उजाड-उजाड बनाएर । कुनै दिन थियो म शिशिरको नांगो रुखमा पनि जीवन मुस्कुराएको देख्ने गर्थें तर आज त बसन्तको हरियालीमा पनि जीवन रोइरहेको देख्छु । थाहा छ, हाम्रो विश्वासको महल त भत्किसकेको छ, छातीभित्रका भावनाहरु तुषारोले कठ्याङ्ग्रिसकेका छन तैपनि तिमी जती नै टाढा भए पनि मैले चाहेर पनि तिमीलाई भुल्न सक्दिन । चाहे तिमी सम्झ या बिर्स, गहभरीका आँसु अनी मनभरिका व्यथा सहेरै पनि यो निरीह मुटुमा अनन्तसम्म तिम्रो याद सजाइराख्नेछु । एउटा अप्राप्य निधीको रुपमा सदा सदाको निम्ती मेरो मानसपटलमा केवल 'स्मृति' बनी नाचिरहनेछौ तिमी अनि त्यही प्राप्तिको मर्मभित्र मर्माहित भई तिम्रै हृदयको परिवेशमा बरबाद भई हाँसीरहनेछु म । हुन त एउटै मुटुको धड्कनभित्र सबैको प्रेम अट्ने भईदिएको भए शायद प्रेमको अर्थ नै हुने थिएन, कारण प्रेम त दुई अक्षरको शब्द जस्तै दुई आत्माको मिलन हो, प्रभात र रक्तिम आभा भनौं या त सुनगाभा र सौन्दर्यको मिलन जस्तै । तैपनि सम्झनाको सीमाभित्र प्रेम पल्लवीत गराउने झुठो आशामा आकाश र धर्तिको मिलन हेर्दै मौन हृदयको जलनसँगै मीठो मिलनको प्रतिक्षा गरिरहनेछु । निष्तब्ध रातमा टिलपिल-टिलपिल गर्दै चम्किरहेको एक्लो तारा झैं जीवन जिउने संघर्ष गर्दै अथाह पीडाको सागरमा डुबेरै पनि वाचास्वरुप तिमीले टोकेको औंलाको चोटबाट रगतको नदी तिम्रै तस्विरमा बगाउँदै हरपल नशाको बेहोशीमा उजाड बिपनाको बगैंचाभित्र एउटा नमीठो सम्झौतामा रमाउने दुष्प्रयास गर्दैछु ।

स्मृति, आखिर कोमल मुटु न हो, जति सम्हाल्न खोजे पनि कहिलेकहीं चसक्क घोच्दोरहेछ, नमीठोसँग दुख्दोरहेछ अनि व्यर्थै बाँचे झैं जीवनका क्षण-क्षण बिताउन युगौं लाग्दोरहेछ । अझै मुटुमा दन्केको वियोगको ज्वालालाई आँसुको धाराले निभाउने अथक प्रयास गर्दा गर्दै झन दन्कँदोरहेछ । हुन त जब चोट उम्लिन्छ, आँसु नपोखिएर अरु के नै पो पोखिन्छ र, जब हृदयमा ठेस लाग्छ, मुटु नदुखेर अरु के नै पो दुख्छ र? फेरी म तिमीप्रती कुनै गुनासो गर्न पनि त सक्दिन, कारण तिमीले त एउटै मुटु न दुखाएकी हौ, एकै जनालाई न पराई बनाएकी हौ तर मैले त केवल तिम्रो हृदयको मझेरीमा बास पाउने झीनो आशामा कति निश्चल आत्माहरुमा चोट पुर्‍याएको थिएँ, कतिबाट बिना अर्थ पराइ भएको थिएँ, होइन र? जे होस् अब त समय पनि धेरै टाढा छैन होला जब सुक्नेछन् मेरा सारा आँसुहरु अनि पीडाले रोकिनेछ जीवनको बाटो, तब तिमी आउनेछौ होला मेरो लागि श्रध्दाका दुई थोपा आँसु चढाउन । तर त्यतिखेर तिमीलाई पूर्ण स्वतन्त्रता हुनेछ, चाहे खुशी मनाउ या आँसु बगाउ कारण मेरो जिन्दगी आफ्नै चोखो विश्वासहरुसँगै चीर निन्द्राको बिछ्यौनामा सुस्ताइरहेको हुनेछ अनि प्राप्तिका चाहनाहरु जस्तै खरानी भई खुल्ला गगनमा उडीरहनेछ जहाँ कुनै आँधिको पर्वाह हुने छैन, कहीं कतै मिलनको आशा रहने छैन ।

तिमी बिनाको
सागर

Wednesday, September 24, 2008

सम्झौता


कहिले चट्टानमा ठोक्किंदै
अनि भेलहरुमा लछारिंदै
अविरल बगिरहेको
म एउटा नदी
कहिले झरना बनी
तल-तल झरिरहन्छु
कहिले छाल बनी
माथी-माथी उडिरहन्छु
अर्थहीन मेरा यी यात्राहरुमा
निरीह भई कैयौं पटक
धर्तिको साथ खोज्छु
तर ऊ कहिले पहाड बनी
मेरो बाटो छेकिदिन्छ
कहिले पत्थर बनी
मेरा चोटहरुमा पीडा थपिदिन्छ
तैपनि म चुपचाप सहीदिन्छु
बस् चुपचाप
मलाई धर्तिसँग
कुनै गुनासो गर्नु छैन
ऊ मलाई गाली गरोस्
या माया गरोस्
तिरस्कार गरोस्
या सहारा देओस्
बरु कुनै बेला धर्तिले
मेरो बाटो छेक्यो भने
बिना कुनै आक्रोश
म आकाशतर्फ चियाउँछु
कारण आकाशले मलाई
कहिल्यै पराई सम्झेन
मेरा बाटोहरुमा
कहिल्यै तगारो बनेन
ऊ त अँगालो खोलेर
हरपल मेरो स्वागत गर्दछ
त्यसैले उसलाई चुम्ने
मेरा अधुरा तृष्णाहरु
कहिले बाफ बनी पुरा गर्छु
कहिले छाल बनी नजिकिन्छु
तर ती असफल प्रयासमा
मेरा अपुरा सपनाहरु
अपुरै रहन्छन्
पारी क्षितिजसम्म पुग्नुपर्ने
मेरा उद्देश्यविहीन दौडहरुमा
मेरो साथ रहन्छ
आखिर उही धर्ति
अनी धर्तिको साथ म,
थाहा छैन हाम्रो निकटता
केवल सम्झौताको सहारामा
रहरहरु थाँती राख्दै
कहाँसम्म थामिईरहन्छ
कता-कता तन्किईरहन्छ ।

Wednesday, September 10, 2008

विवशता


कोठाभित्र एउटा मैनबत्ति
एकनाश सिरेटोको सामना गर्दै
सम्पुर्ण आशाहरु हराए झैं
धिपधिप बलिरहेको छ
शायद उसले बुझेको छ
केहि बेरमा उसको समाप्ति हुँदैछ
उ केवल निशानीमा सिमित रहनेछ,
जब उ पीडाले छट्पटाउँदै
तिव्र बतासको सहारामा
एकै छिन सुस्ताउन खोज्छ
अनायसै तिमी आइपुग्छ्यौ
अनि झ्यालहरु बन्द गर्दै
निष्ठुरतापुर्वक फेरि जलाउँछ्यौ,
मौनतामा आँसु पोख्दै
बिन्ती त उसले गरेकै थियो
भो मलाइ नजलाउ भनेर
तर तिम्रो कठोर हृदयले
आँसुको मुल्य नै कसरी बुझ्थ्यो र?
विद्रोह गर्ने सामर्थ्यको संकटमा
अर्तनादमा पिल्सिएरै
जलि नै रह्यो विवशतापुर्वक
फगत रोशनी चाहिएको तिमीलाई
उसको तड्पाइको के पर्वाह हुन्थ्यो र?
तर भुलहरुको प्रायश्चितमा तिमी
शीतल पवन बनेर नआउ
जलन झनझन् बढ्न सक्छ
पीडाहरुमा आफन्तको
मलहम बोकेर नआउ
तातो स्पर्शले उसलाइ
छताछुल्ल पार्न सक्छ
उ कसैसँग सहानुभुतिको भीख माग्दैन
कतैबाट आत्मियताको आशा गर्दैन
तैपनि कसैलाई उज्यालो बाँड्नको निम्ती
आफ्नै अस्तित्व गुमाईरहन्छ ।

परिवर्तन



हिजो सम्म मेरो अघि
फूल छर्दै हिंड्थिन् उनी

तर आज के भएछ

काँडा छाडी गईछन् उनी,


उनका मेरा दु:ख सुख

सँगै बाँड्ने गर्थ्यौं हामी

आज किन यस्तो भयो

मलाई पीडा उनीलाई खुशी,


जिन्दगीको एउटै लक्ष्य

तिमी नै हो भन्थिन् उनी

तर आज कोही आएछ

उनको नयाँ लक्ष्य बनी,


मेरा हरेक खुशीमा त

खुली रमाउँथिन् उनी

आज उनको यो खुशीमा

रमाउँ अब म कसरी?

मेरी साथी


चुलबुल चुलबुल मेरी साथी
मलाई सधैँ जिस्क्याउँछे

हाँस्दा मैले सँगै हाँस्छे

रुँदा मलाई फकाउँछे,

गल्ती केही गर्‍यो भने

मेरो कान समाउँछे

आफ्नो गल्ती भयो भने

हाँसीहाँसी टारिदिन्छे,

मान्छे चाँहीं सानी सानी

तर कुरा धेरै गर्छे

अनौठी छे मेरी साथी

बुझ्नै नसकिने मान्छे ।

सहयात्रा

यात्रासँगै मुस्कुराउँदै
अनायसै निस्किएको
म एउटा यात्री
थुप्रै यात्रीहरुको भीडमा
खै कहाँ हराएछु
कसो गरी बिराएछु?
म सम्झन्छु त्यो पल
जब यात्रा र म
वाचा गर्दै निस्केका थियौं
एकान्त गल्ली गल्ली
अनी शहरका भीडहरुमा पनि
सँगसँगै हिंड्नेछौं,
पतझड होस् या
बसन्तको वहार
सँगै रुनेछौं
सँगै हाँस्नेछौं
तर आज यात्रा कहाँ छ
म कहाँ छु
अनौठो दोधारमा छु म
मलाई यात्राले छाडि गयो
या मैले यात्रालाई
खैर जे सुकै होस्
उसको नजरमा म हराएको छु
मेरो नजरमा उसलाई गुमाएको छु,
अञ्जानमै भेटिएको
यात्रा मेरो लक्ष्य थियो
केही क्षणको साथसँगै
अमीट मेरो सपना बन्यो
तर म कसरी भन्न सक्छु र
म उसको लक्ष्य थिएँ या थीइन
कारण म जस्ता थुप्रै यात्री
सधैं उसले भेट्न सक्छ
एक्लोपनका प्यासहरु
हरपल उसले मेट्न सक्छ
तर म त
लक्ष्यविहिन एक्लो यात्री
दिशाविहिन निरीह यात्री
कसको साथ पाउँला र खै?
तैपनी एउटा झिनो आशा बोक्दै
कतै यात्रा पनि म जस्तै
एक्लै एक्लै तड्पिएको छ कि
यात्रीहरुको ओझेलमा
मलाई पर्खि बसेको छ कि
म नयनहरु दौडाईरहन्छु
आँफैलाई लम्काइरहन्छु
अन्त:हीन खोजीहरुमा
गन्तव्यविहिन बाटोहरुमा ।

Tuesday, September 9, 2008

मेरो कलम


अविरल आत्मियता पोख्ने
मेरो प्यारो कलम

हिजो आज किन-किन

वियोग मात्र कोर्ने गर्छ

पीडा मात्र लेख्ने गर्छ,

मेरो साथ पाउनसाथ

धेरै-धेरै लेख्ने कलम

आज त्यसै सुस्ताएछ

प्राप्तिका कुरा छाडि

गुमाइमा नै हराएछ,

जुनेलीमा रम्ने कलम

क्रन्दनमा रुमल्लिंदै

कालरात्रीको सन्नाटामा

कावा खान थालेको छ

जिन्दगीको गीत गाउँदै

कोमल शब्द पोख्ने कलम

आज अभिशाप ठान्दै

कठोर बन्न थालेको छ,

खै किन हो कुन्नी

वहारका भावनाहरु कोर्ने कलम

आज उजाड लेख्ने गर्छ

खुशीका शब्दहरु बटुल्ने कलम

आँसु मात्र पोख्ने गर्छ

हरपल 'मेरो' देख्नेलाई

आज अरु कसैको लेख्ने गर्छ ।

असमानता


कोरिएछ नयनमा स्वप्निल रंगको आकृती
उभिएछ विश्वासको खम्बा साट्दै ढुकढुकी

वहार आयो जीवनमा खुशीहरु सबै पाएँ

मायाको अपार सागरमा कहाँ-कहाँ हराएँ


अनायसै खडा भएछ पर्खाल असमानताको

तोडिएछ अटुट हाम्रो बन्धन आत्मीयताको

कोमल मुटु पत्थर बन्यो हराए सारा उमङ्ग

लक्ष्य सारा बगीगए गुमाईका ती आँसुसँग


जिन्दगीको मौसम आज उजाड-उजाड भएछ

समयको चक्रव्युहमा आफन्त नै पराई भएछ ।

प्रतिक्षा


म तिम्रो आगमनको प्रतिक्षामा
हरेक साँझहरुमा उदाउने गर्छु

हरेक बिहानीहरुमा अस्ताउने गर्छु


कालरात्रीको सन्नाटामा

सम्पूर्ण अन्धकारलाई हटाउन खोज्छु

कतै मुस्कुराइरहेकी छौ कि भनी

रविका रक्तिम किरणहरुमा

हरेक बिहान म चियाउने गर्छु

मेरै बाटो हेर्दै छौ कि भनी


शिशिर यामको चिसो सिरेटोमा

प्रत्येक गल्लिहरु चहार्ने गर्छु

कतै कठ्यांग्रिरहेकी छौ कि भनी

गोधुली साँझको न्याउलीलाई पनि

चुप लाग्न बिन्ती गर्छु

मधुर भाकामा गाइरहेकी छौ कि भनी,

अविरल सागरहरुमा पौडन खोज्छु

कुनै छालले तिमीलाई बगायो कि भनी

आकाश माथि-माथि उड्न खोज्छु

कतै बादलमै रुमल्लिएकी छौ कि भनी


अझ म,

क्षितिज पारी सम्म चियाइरहन्छु

कतै पीडाले छट्पटिएकी छौ कि भनी

हरेक पतझड मौसमहरुमा डुल्ने गर्छु

कतै जीवनदेखी थाकीसक्यौ कि भनी
,
अफशोस तिमीलाई खोज्दा खोज्दै
म आफैं गन्तव्यविहिन बनिसकेको छु

प्राप्तिका सपनाहरु बुन्दा बुन्दै

हरपल झनझन रित्तिरहेको छु ,


त्यसैले आजभोलि

म तिम्रै आगमनको प्रतिक्षामा

हरेक साँझहरुमा उदाउने गर्छु

हरेक बिहानीहरुमा अस्ताउने गर्छु ।

अनौठो पीडा


चोट लुकाइ मुटुभरी
ओठमा मुस्कान छरिरहें

कतैबाट आउँछौ भनी

तिम्रै बाटो हेरिरहें,


दिन बिते प्रतिक्षामा
रात भिजे सम्झनामा

पतझड भो जीवन आज

अर्थहीन आशै आशमा,


याद तिम्रै
छातीभित्र
पीडा बनी बल्झिदिन्छन

जता-जता हिंड्न खोज्छु

पाइलाहरु अल्झिदिन्छन,


हाँस्न मलाई सिकाउँथ्यौ

आज किन रुवाइ गयौ?

हिजो सम्म आफ्नो भन्थ्यौ

आज किन पराइ भयौ?

बिन्ती उनीलाई


मुटुभरी माया बोकी
मलाई तिमी पर्खि बस्नु है
आँगनको डिलबाट
मेरो बाटो हेरी बस्नु है,

कोही आउला साथ खोज्न
मलाई तिमी रोजी बस्नु है
तिम्रा हरेक स्पन्दनमा
मलाई तिमी खोजी बस्नु है,

मन तिम्रो दुखाएमा
माफ मलाई गरी बस्नु है
तिम्रो कोमल मनभित्र
मेरो तस्वीर कोरी बस्नु है,

ओठभरी मुस्कान छर्दै
मेरो माया साँची बस्नु है
जुनी-जुनी सँगै बाँच्ने
वाचा हाम्रो सम्झी बस्नु है ।

नबनाउ आफ्नो मलाई


रित्तिएको संसारमा
कहाँ डाकुँ तिमीलाई म
टुक्रिएको मुटुभित्र
कहाँ राखुँ तिमीलाई म?

आँखाभित्र साचुँ भने
आँसु बनी बग्छौ तिमी
छातीभित्र राखुँ भने
चोट मात्रै देख्छौ तिमी

आकाशको जुन हौ तिमी
तल किन चियाउँछौ
धर्तिको यो धुलोलाई
आफ्नो किन बनाउँछौ?

बतासमा उडी जाँदा
तिमीसँग भेट भयो
फेरी तल झरें म त
तिम्रो तस्वीर दुर भयो ।

भ्रम


घमाईला ती दिनहरुमा
दुनियाँका नजरहरु जब
शान्त फेवातर्फ चियाउँछन्
उत्सुक त्यो दुनियाँ
एक स्वरमा बोल्दछ
फेवाले नि:संकोच माछापुच्छ्रेलाई
अँगालोभरी बाँधेकी छे
सदियौंदेखी उकुसमुकुस भावनाहरु
माछापुच्छ्रेसँग साटेकी छे,
चैत बैशाखको खडेरिले अब
माछापुच्छ्रेलाई खण्डहर बनाउने छैन
अविरल वर्षातहरुमा
उ अब निष्तेज बन्ने छैन
अनि पुष-माघको हिमपातले
उसलाई विक्षिप्त पार्ने छैन,
उ त आज फेवाको अंगालोमा
लुकामारी खेलेको छ
जिन्दगीका दु:ख सुख
बाँड्ने साथी भेटेको छ,
उनीहरु फेरी सोच्छन
हर दिनको आँखा जुधाइ पश्चात
फेवाको छचल्किएको आँसु पुछ्न
माछापुच्छ्रे झरेको छ
फेवाको हृदयको चित्कार सुनेर
थाहै नपाई माछापुच्छ्रे
फेवामा नै डुबेको छ
अब फेवाले माछापुच्छ्रेलाई
पट्यार लाग्ने गरी
नियाल्नुपर्ने दिन गएको छ
आज फेवा माछापुच्छ्रे भएकी छे
माछापुच्छ्रे फेवा बनेको छ,
तर ती नजरहरु जब
उनिहरुको प्रेमालाप नियाल्दा नियाल्दै
थकित भएर माथितर्फ दौडन्छन
तब एक्कासी स्तब्ध हुन पुग्छन
कारण माछापुच्छ्रे त माथि
फेवाभन्दा धेरै टाढा
एक्लै-एक्लै उभीइरहेको छ
नीलो गगन माझमा
चिसो बतासको सुसेलीमा नै
अटुट साथ पाएको छ,
फेवालाई चियाउनको निम्ती
उसका नयनहरु तल्लिन थिएनन
फेवालाई स्पर्श गर्ने उसका
कुनै अभिलाषा देखिएनन
फेवासँग नजिकिनको निम्ती
आफ्नो उचाइ कम गरेको थिएन
हुन सक्छ फेवाले पनि
उसको छायाँको आत्मियता
छातीभरी समेटेकी छे
माछापुच्छ्रेको झुट्ठो साथमा
जुनी-जुनी सँगै बाँच्ने
सपनाहरु बुनेकी छे
तर सन्ध्याको आगमनसँगै
माछापुच्छ्रेको आकृती धमिलिंदै जाँदा
फेवालाई आभाष हुनेछ
उ केवल मृगतृष्णामा बाँचेकी छे
दुनियाँले जस्तै उसले पनि
माथी हेर्न भुलेकी छे ।

परदेश


पराई यो शहरमा
कसको साथ हासुँ अब
जिन्दगीका दु:ख पीडा
को सँग म बाडुँ अब,

विहानीको उषा सँगै
आवाज बनी तिमी आउँथ्यौ
गोधुलिको शुन्यतामा
शब्द बनी तिमी छाउँथ्यौ,

बिना तिम्रो साथ आज
सारा संसार शुन्य लाग्छ
तिमीलाई भेट्न भनी
उडी आउँ-आउँ लाग्छ,

परदेशमा भए पनि
तिमी नै छौ आँखाभरी
साँची राख मेरो माया
भेट्न आउँछु घरि-घरि ।

अञ्जान तिमी


नशालु ती ओठ टोकी मलाइ किन हेरेकी हौ ?
तिम्रा मेरा नयन जुध्दा लजाइ किन भागेकी हौ ?

कोमल त्यो हृदयमा एक क्षण बास बसुँ लाग्यो
रेशमी ती केशराशीमा लुकामारी खेलुँ लाग्यो
चञ्चल ती परेलीले कसलाइ डाकी बसेकी हौ ?
तिम्रा मेरा नयन जुध्दा लजाइ किन भागेकी हौ ?

हिजो पनि भेट भाथ्यो तर आज नौलो लाग्यो
त्यो नजर त्यो अधर मेरै निम्ती जस्तो लाग्यो
निश्चल ती हेराइमा कसको साथ खोजेकी हौ ?
तिम्रा मेरा नयन जुध्दा लजाइ किन भागेकी हौ ?

वियोग

साथ दिने तिम्रा हात
क्षितीज पारी छाडी आएँ
मायालु ती नयनहरु
नचाहेरै भिजाइ आएँ

परेलीमा टल्पिदिन्छ
हरपल क्रन्दनको छायाँ
कसरी म भुल्न सक्छु
तिम्रो सुमधुर माया

निश्चल तिम्रो मुहार सधैँ
सपनीमा आउने गर्छ
बिपनीको आगमनमा
एक्लोपन छाउने गर्छ

उजाड संसारमा आज
तिम्रै यादमा रमाउँदैछु
तिमीलाई नै जिन्दगीको
बाँच्ने आधार बनाउँदैछु ।

माया


शब्द बुन्दै कविता यो
जिन्दगीको लेखुँ लाग्छ
छन्द खोज्दै कता-कता
आफैंभित्र हराउँ लाग्छ,

मधुर-मधुर सुवासमा
फूलसँगै हाँसु लाग्छ
उषाको त्यो लालीसँग
अटुट प्रीति गाँसु लाग्छ,

कति मीठो मुस्कान त्यो
सधैं हेरीरहुँ लाग्छ
मायालु ती नजरमा
हरपल छाईरहुँ लाग्छ,

तिमीलाइ सदा-सदा
मुटुभरी राखुँ लाग्छ
तर पराई बन्छौ भनी
माया लुकाई बसुँ लाग्छ ।

कविताविहीन शीर्षक


म त फगत एक्लो शब्द
सिंगो कविता कोर्नको निम्ती
म किञ्चित पर्याप्त छैन
तसर्थ हेर्दैछु यता-उता
कतै शब्दहरुको खडेरी परेको बेला
कोरीईसकेका शीर्षकविहीन कविताहरु
पूर्ण बन्ने रहर बोकेर
शीर्षकको खोजीमा यत्रतत्र
सल्बलाई रहेका छन् कि भनी,
तर अनौठो त्रास छ मनभित्र
कतै मैले भेट्ने कविताका भावना
अनि मेरो लक्ष्यबीच
विरोधाभास पाइने हो कि
कतै मेरा साँघुरा अर्थहरु
कविताको समष्टिसँग
बेमेल हुने पो हो कि,
म त चाहन्छु
कविता र म
एउटै गहिराइमा डुब्न सकौं
उसका भावहरुलाइ समेट्दै
एउटै उचाइमा चढ्न सकौं
किनकि आज कविता बिना
म आफ्नो औचित्य देख्दिन
म बिना कविताको
कहिं कतै चिनारी भेट्दिन
त्यसैले त भन्दैछु म
आउ कविता
एक अर्काको अँगालोमा
जीवन्त भै हाँस्न सिकौं
अस्तित्व गुमाउन लागेका
तिम्रा मेरा लक्ष्यहरु
हासिल गर्दै बाँच्न सिकौं,
तर बिन्ती छ
पंक्तिहरु कोरीइनसकेका
अधुरा कविताहरु
मेरो सामु नआईदेउ
भावहरु नझल्किएका
अर्थहीन कविताहरु
मलाई तिमी नसताइदेउ
कारण अमुर्त कवितालाई
एक मुर्त रुप दिने
दुष्प्रयास म गर्दिन
म त केवल एक्लो शब्द
नटुंगिएको कविताको
शीर्षक बन्न म सक्दिन ।

मौन फूलहरु

आहा कति सौम्य
अनी कति सुन्दर
एउटा मनोहर फूल
म टोलाईरहन्छु एकनाश
उसका कोमल पत्रहरुको
अनुपम सुन्दरतामा,
अनायसै एउटा भँवरा
फूलको समीपमा आउँछ
अनि पत्र-पत्र केलाउँदै
निस्फिक्री रस चुस्छ
जब नीरस बन्छ फूल
पुन: अर्को फूलतर्फ
नि:संकोच उड्दछ उ,
नतमस्तक हेरीरहन्छु म
बेसहारा त्यो फूललाई
पुर्ण बन्ने चाहनासँगै
कति चाँडै रित्तियो उ
सुन्दरताको आगमनसँगै
कति छिट्टै लुटियो उ,
तैपनि उ विद्रोह गर्दैन
बस् फूलिरहन्छ
लुटिइरहन्छ
अनि सकिइरहन्छ
मानौं पोखिनुमा नै उ
अनौठो गौरव गर्दछ
सकिनुमा नै उ
आत्मसन्तुष्टि पाउँछ,
म भावविव्हल हुन्छु
कति निरिह छ त्यो फूल
जो आफ्नै जवानी लुटीईरहँदा
मौन भई फक्रिरहेछ,
अफशोस स्वार्थी भँवराहरु
मौनतालाइ समर्थन ठान्दै
सगौरव लुटिरहेछन्
सुकोमल ती फूलहरुलाई
आँसुलाई मधु-रस मान्दै
निर्लज्ज चुसिरहेछन्
अबोध ती फूलहरुलाई ।

मेरो जन्म दिन


एक सुनसान साँझ
अनि एक्लो म
गन्तव्यविहीन यात्राको
कल्पनामा नै हराईरहेथें
अनायसै मेरो कोठा
एउटा ठुलो भीडले भरिन्छ
अनि बिस्तारै बिस्तारै
संगीत र नशाको रमझमसँगै
नौलो माहौल छाईदिन्छ
सबै जना भन्छन् मलाई
आज त मेरो जन्म दिन हो रे
म केहि क्षणमा नै मेरो जीवनको
अर्को एक बसन्त पार गर्दैछु रे,
खुशी र विस्मातको दोसाँधमा
म पनि त्यो भीडसँगै झुमीदिन्छु
एक्लोपनका ती उराठ पलहरुलाइ
एकै छिन को लागि भुलिदिन्छु
अनि आफ्नो समापन नजिकिएकोमा
अबुझ म एक उत्सव मनाइदिन्छु,
फेरि तुलना गर्छु आफैंलाइ
जलिरहेका ती मैनबत्तिहरुसँग
जो आफु जलेरै पनि
मेरो खुशीमा साथ दिंदैछन्
तर म खुशी हुन सक्दिन
बिल्कुलै सक्दिन
आफ्नै चितातर्फ लम्किंदै गर्दा
म कसरि हर्षोल्लास मनाउन सक्छु र?
आफ्नै समाप्तिको संघारतर्फ नजिकिंदा
म कस्तो उमंग पाउन सक्छु र?
तैपनि एक फोस्रो मुस्कान छाड्छु
सबैको बधाइ स्विकार्छु
अनि थाहै नपाई हर साल
आफुलाई अन्त्यतर्फ लम्काई रहन्छु
तीनै मैनबत्तिहरु जस्तै
आफैंलाइ मेटाईरहन्छु ।