मामु आखिर तिमी आयौ
तर किन यति ढिला गरेर आयौ,
जब म ताते ताते गर्दै
लड्दै लड्दै हिंड्न खोज्थें
तिम्रो त्यो न्यानो अँगालो
कति खोजीरहन्थें म
तर तिमी त केवल
मन्द आवाजमा गुञ्जीदिने गर्थ्यौ
जब म तोते बोलीमा
तिम्रो नाम पुकार्ने गर्थें
लाग्थ्यो कतैबाट अनायसै
तिमी मुस्कुराउँदै आउनेछौ
तर तिमी त काल्पनिक पर्दाबाटै
मलाई बस् चियाईरहन्थ्यौ,
माया गर्दै तिमीलाई
तिम्रै साथमा रमाउँ भन्थें
तिम्रो हातले खुवाएको
बुबु माम खाउँ भन्थें
तर त्यो दिन कहिल्यै आएन
अहँ आउँदै आएन,
कालो आकाशतिर नियाल्दै
म तिम्रै बाटो हेरीरहन्थें
हजारौं पराईहरुको भीडमा
म तिमीलाई नै खोजीरहन्थें
न कसैलाई बुझाउन सक्थें
न कसैले बुझ्न नै सक्थ्यो
तिम्रो मायालु साथ नपाउँदा
म कति तड्पिई रहन्थें
टिलपील टिलपील आँसु बनाई
म कति भक्कानिई रहन्थें,
अब फेरी मलाई छाडी
टाढा नगईदेउ है मामु
हात समाई टुकु टुकु
सँगै लगीदेउ है मामु ।
No comments:
Post a Comment