Tuesday, January 17, 2023

मामु आखिर तिमी आयौ

मामु आखिर तिमी आयौ

तर किन यति ढिला गरेर आयौ,

जब म ताते ताते गर्दै

लड्दै लड्दै हिंड्न खोज्थें

तिम्रो त्यो न्यानो अँगालो

कति खोजीरहन्थें म

तर तिमी त केवल

मन्द आवाजमा गुञ्जीदिने गर्थ्यौ,

जब म तोते बोलीमा

तिम्रो नाम पुकार्ने गर्थें

लाग्थ्यो कतैबाट अनायसै

तिमी मुस्कुराउँदै आउनेछौ

तर तिमी त काल्पनिक पर्दाबाटै

मलाई बस् चियाईरहन्थ्यौ,

माया गर्दै तिमीलाई

तिम्रै साथमा रमाउँ भन्थें

तिम्रो हातले खुवाएको

बुबु माम खाउँ भन्थें

तर त्यो दिन कहिल्यै आएन

अहँ आउँदै आएन,

कालो आकाशतिर नियाल्दै

म  तिम्रै बाटो हेरीरहन्थें

हजारौं पराईहरुको भीडमा

म तिमीलाई नै खोजीरहन्थें

न कसैलाई बुझाउन सक्थें

न कसैले बुझ्न नै सक्थ्यो

तिम्रो मायालु साथ नपाउँदा

म कति तड्पिई रहन्थें

टिलपील टिलपील आँसु बनाई

म कति भक्कानिई रहन्थें,

अब फेरी मलाई छाडी

टाढा नगईदेउ है मामु

हात समाई टुकु टुकु

सँगै लगीदेउ है मामु ।